काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने बताए। सुरक्षा संयन्त्रसहित भ्रमणमा जाने भएकाले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई पूर्ण रूपमा निजी भन्न नमिल्ने उनको भनाइ थियो।
‘प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ ।’ राईले भने।
मन्त्रिपरिषद् र संसद्लाई समेत जानकारी नदिई प्रधानमन्त्री मुस्ताङ गएको भए त्यसबारे सदनमा जवाफ दिनुपर्ने उनले बताए।
राईले बलात्कार तथा हत्याका घटनामा दोषीलाई कारबाही गर्ने कानुनी व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने बताए। कानुनको डर सिर्जना हुने वातावरण बनाउन नसके मुलुकलाई अराजकताले निल्न सक्ने उनको चेतावनी थियो।
उनले विकास निर्माण र सुशासन कायम गर्ने विषयमा सरकारले पर्याप्त ध्यान दिन नसकेको टिप्पणीसमेत गरे।