काठमाडौं । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै दोषीलाई कठोर सजायको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरूले हिंसाका घटना बढिरहेकाले त्यस्तो व्यवस्था अपरिहार्य भएको बताए।
साथै, उनीहरूले सडक सुरक्षा, महिला तथा बालिकामाथि हुने हिंसा रोक्ने, विदेशमा मृत्यु भएकाको शव स्वदेश ल्याउने तथा विपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद ऐनबहादुर महरले सवारी चालक तथा साधनको लापरबाहीका कारण नागरिकले अकालमै ज्यान गुमाइरहेको बताउँदै सडक सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद विपिनकुमार आचार्यले विदेशमा रहेका नेपालीलाई अति जरुरी काममा स्वदेश आउने व्यवस्था मिलाउन सरकार गम्भीर हुनुपर्ने बताए। सांसद प्रमिलाकुमारी गच्छदारले महिला सुरक्षासम्बन्धी ऐन कानुन अविलम्ब सदनमा प्रस्तुत गर्न तथा बालिकाको सुरक्षाको प्रत्याभूतिको माग गरिन्। सांसद टीका संग्रौलाले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन समस्या भएकाले सरकार संवेदनशील भएर यो समस्या सधैंका निम्ति समाधान गर्नेतर्फ लाग्न सुझाव दिइन्।
सांसद मनिष झाले जनकपुरमा पोखरी अतिक्रमण हटाउने प्रयास जारी रहेको बताउँदै सबै किसिमका अतिक्रमणलाई हटाउनु पर्नेमा जोड दिए । सांसदहरू श्रद्धा कुँवर, बालावती शर्मा, सन्तोष राजवंशी, खड्कबहादुर बुढाले, शाहजान खातुन, भरतबहादुर खड्का, प्रेमबहादुर बयेक, साजिदा खातुन सिद्धिकी, प्रकाश पाठक, नीनु कुमारी कर्ण, प्रमिला कुलुजु, रविन महतो, हरिमोहन भण्डारी र सोम शर्माले पनि बालिका हत्याको विषयमा निष्पक्ष छानबिन र कडा कारबाही तथा अन्य समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।