काठमाडौं। च्यातिएको म्याट, पानी जम्ने प्रशिक्षणस्थल र सीमित सुविधाबीच नेपाली उसु खेलाडी जापानमा हुने २०औँ एसियाली खेलकुदमा पहिलो पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेका छन्।
आइची–नागोयामा सेप्टेम्बर १९ देखि हुने एसियाली खेलकुदमा नेपालले २२ खेलमा प्रतिस्पर्धा गर्दैछ। त्यसमा उसु पनि समावेश छ। नेपालले थाउलु र साण्डा विधामा ११ खेलाडी उतार्ने तयारी गरेको छ।
नेपालले सन् १९५४ देखि एसियाली खेलकुदमा सहभागिता जनाउँदै आए पनि उसुले सन् १९९० को ११औँ संस्करणदेखि मात्र प्रतिस्पर्धा गर्न थालेको हो। त्यसयता नौ पटक एसियाली खेलकुदमा सहभागी भए पनि नेपाली उसुले पदक जित्न सकेको छैन। १९औँ एसियाली खेलकुदमा थाङछ्वानतर्फ विजय सिन्जाली सातौँ र सुस्मिता तामाङ आठौँ हुनु नै अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।
यसपटक ‘मिसन २०२६’ अन्तर्गत करिब १८ महिनादेखिको तयारी र चीनमा गरिएको एकमहिने वैदेशिक प्रशिक्षणले खेलाडीको प्रदर्शनमा सुधार आएको प्रशिक्षकहरूको विश्वास छ। तर प्रशिक्षणका लागि आवश्यक पूर्वाधार र सुविधाको अभाव भने कायमै छ।
थाउलुको प्रशिक्षणमा प्रयोग हुने म्याट च्यातिएका छन्। प्रशिक्षणस्थलमा पानी जम्ने गरेकाले अभ्यास सुरु गर्नुअघि खेलाडी र महासंघका पदाधिकारी आफैं पानी फाल्ने गर्छन्। पर्याप्त र उपयुक्त म्याट नहुँदा प्रशिक्षण प्रभावित भएको सान्सौं खेलाडी रिता ठकुल्ला बताउँछिन्।
रिताका लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। एसियाली खेलकुदमै पहिलोपटक प्रतिस्पर्धा गर्न लागेकी उनी पहिलो सहभागितामै पदक जित्ने लक्ष्यमा छिन्। तर अभ्यासका लागि आवश्यक पूर्वाधार नहुँदा खेलाडीको मनोविज्ञानमा समेत असर परेको उनको भनाइ छ।
मुख्य प्रशिक्षक गणेश अर्यालका अनुसार खेलाडीले करिब १८ महिनादेखि तयारी गरिरहेका छन्। तर डाइटसहितको व्यवस्थित क्याम्पमा राखेर प्रशिक्षण गराउने अवधि पर्याप्त नभएको उनी बताउँछन्। चीनमा एक महिना प्रशिक्षण गरेपछि थाउलु खेलाडीको प्राविधिक र प्रदर्शन पक्षमा सुधार आएको उनको विश्वास छ।
साण्डा टोलीका प्रशिक्षक तुलसीनन्द बज्राचार्यका अनुसार खेलाडीले स्पारिङ र प्राविधिक पक्षमा तयारी गरिरहेका छन्। तर पूर्ण रूपमा भिडाएर प्रशिक्षण गराउन नसकिएको तथा प्रशिक्षणस्थलमा चिकित्सक र फिजियोथेरापिस्टको व्यवस्था नहुँदा थप सतर्क हुनुपरेको उनी बताउँछन्।
साण्डामा पुरुषतर्फ ५६ केजीमा रोहित चुनारा, ६० केजीमा मुकेश पण्डित, ६५ केजीमा अमर सुनार र ७५ केजीमा सञ्जीव महर्जन तथा महिलातर्फ ६० केजीमा रिता ठकुल्लाले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल उसु महासंघका महासचिव नवराज ढुङ्गानाले आवश्यक म्याटका लागि तीन वर्षदेखि सरकारसँग पहल गरिरहेको बताए। महासंघले आफ्नो क्षमताअनुसार केही सामग्री व्यवस्थापन गरे पनि लाखौँ रुपैयाँ पर्ने म्याटलगायतका सामग्री सरकारको सहयोगबिना जुटाउन कठिन रहेको उनको भनाइ छ।
“राज्यले सुनिरहे पनि नतिजा आउन सकेको छैन,” ढुङ्गानाले भने।
महासंघकै पहलमा खेलाडीलाई एक महिना चीनमा प्रशिक्षण गराइएको र थप वैदेशिक प्रशिक्षण तथा आवश्यक सुविधाका लागि पहल भइरहेको उनले बताए। खेलाडीले पाउनुपर्ने केही सुविधामा भने महासंघ चुकेको उनले स्वीकार गरे।
थाउलुमा नेपालको मुख्य आशा विजय सिन्जाली हुन्। जापानमा भएको तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जितेका विजय नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने उक्त खेलका पहिलो नेपाली खेलाडी हुन्। १९औँ एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेका विजय चीनको प्रशिक्षणपछि आफ्नो प्रदर्शनमा थप सुधार आउने विश्वासमा छन्।
तर उनको टोलीले पनि च्यातिएको र पानीले भिजेको म्याटमै अभ्यास गरिरहेको छ। व्यवस्थापकसमेत नहुँदा तयारी थप चुनौतीपूर्ण बनेको उनी बताउँछन्। सुविधाजनक वातावरण नपाए पनि उत्कृष्ट प्रदर्शन गर्ने उनको लक्ष्य छ।
थाउलु प्रशिक्षक प्रकाश महर्जनले लामो समयको तयारी र वैदेशिक प्रशिक्षणले खेलाडीमा सुधार आएको बताए। बीचबीचमा प्रशिक्षणमा अवरोध आए पनि खेलाडीको आत्मविश्वास बलियो रहेको उनको भनाइ छ।
थाउलुको छाङछ्वानमा विजय सिन्जाली र सुस्मिता तामाङ, थाइची छ्वान/थाइची चेन सु अलराउन्डमा हरिप्रसाद गोले र सविता राई, नानछ्वान/नानकुन सु अलराउन्डमा दीपक हमाल तथा कुनसु/ताओसुमा राजीव तामाङले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। दीपक र विजय १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासमेत हुन्।
सीमित सुविधा र कमजोर पूर्वाधारबीच तयारी गरिरहेका नेपाली उसु खेलाडीको लक्ष्य भने स्पष्ट छ—एसियाली खेलकुदमा ३६ वर्षदेखिको पदकविहीनता तोड्ने।