वीरगन्ज– तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि वीरगन्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्। दोषीलाई कडा कारबाही गरी बालिकालाई न्याय दिलाउन माग गर्दै आन्दोलनरत स्थानीयवासीले आन्दोलनको चौथो दिन सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिएका हुन्।
सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया सडकखण्डमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँचबुँदे सहमति भएको थियो। तर, गरिमाको परिवारले भने उक्त सहमतिमा आफूहरूको सहभागिता र सहमति नरहेको स्पष्ट पारेको छ। परिवारले दोषीलाई कारबाही र न्यायको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको हो।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरकी तीन वर्षीया गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। उनको खोजी गर्ने क्रममा भदौ २ गते घरनजिकैको एक घरमा विभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
घटनापछि दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विभिन्न राजनीतिक दल तथा संघसंस्थाले समेत विरोध प्रदर्शन गर्दै आएका छन्। आन्दोलनकारीले बालिकाको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय र दोषीलाई कडा सजाय दिन माग गरेका छन्।