काठमाडौं। नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको महिला ‘ग्रिन रन’मा जलवायु सचेतनासँगै बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीका लागि न्यायको माग गरिएको छ।
प्रतियोगितामा सहभागी महिलाले ‘जस्टिस फर गरिमा’ नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। साउन ६ गते बीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजित ‘ग्रिन रन’मा प्राविधिक कारणले महिलातर्फको विजेता छनोट हुन नसकेपछि शनिबार पुनः दौड आयोजना गरिएको हो।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउने काम राजनीतिक दलको जिम्मेवारी भएको बताए। जलवायु परिवर्तनका कारण हिमाल पग्लिने तथा नदी र हिमतालमा जोखिम बढिरहेको भन्दै उनले आगामी पुस्ताका लागि हिमाल र वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए।
‘पृथ्वी जलवायु परिवर्तनबाट संकटमा छ,’ शर्माले भने, ‘आगामी पुस्तालाई राम्रो पृथ्वी हस्तान्तरण गर्न कार्बन उत्सर्जन घटाउँदै कार्बन सिङ्क बढाउनुपर्छ।’
उनले जलवायु संकटसँगै महिला तथा बालबालिकाको सुरक्षा, बालश्रम, जातीय विभेद, घरेलु हिंसा र लागुऔषधजस्ता सामाजिक समस्याविरुद्ध पनि राजनीतिक दलले जनचेतना र अभियान सञ्चालन गर्नुपर्ने बताए। समाजमा सबैले आत्मसम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु राजनीतिको मूल जिम्मेवारी रहेको उनको भनाइ थियो।
कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जलवायु परिवर्तनको असर नेपालमा समेत बढ्दै गएको भन्दै त्यसबारे सचेतना फैलाउन महिलाको सहभागितामा ‘ग्रिन रन’ आयोजना गरिएको बताइन्।