बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा गत आर्थिक वर्षमा विदेशी सिकारीले २१ नाउर र ११ झारलको सिकार गरेका छन् । सिकारका लागि अनुमति लिएका विदेशी सिकारीबाट राज्यले रु चार करोड १७ लाखभन्दा बढी राजस्व प्राप्त गरेको छ ।
ढोरपाटन सिकार आरक्षमा हरेक वर्ष दुई चरणमा सिकार खुला गरिन्छ । गत आर्थिक वर्षको पहिलो सिकार याम असोजदेखि मङ्सिरसम्म सञ्चालन भएको थियो भने दोस्रो याम फागुनदेखि वैशाखसम्म चलेको थियो ।
पहिलो याममा ११ नाउर र आठ झारलको सिकारका लागि अनुमति दिइएकोमा विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए । उक्त यामबाट रु तीन करोड तीन लाख पाँच हजार राजस्व सङ्कलन भएको थियो । अनुमति लिइए पनि तीन नाउर र तीन झारलको सिकार भने हुन सकेन ।
त्यस्तै, दोस्रो याममा १४ नाउर र १० झारलका लागि सिकार अनुमति दिइएको थियो । सो अवधिमा १३ नाउर र छ झारलको सिकार भएको आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए । यस यामबाट रु एक करोड ४३ लाख ७४ हजार राजस्व सङ्कलन भएको थियो । प्राविधिक समस्याका कारण एक नाउर र चार झारलको सिकार हुन नसकेको उनले बताए ।
ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा परिवर्तन आउनु तथा निसाना चुक्नुलगायत कारणले अनुमति प्राप्त भए पनि केही वन्यजन्तुको सिकार हुन सकेन ।
नेपालमा कानुनी रूपमा सिकार गर्न पाइने एकमात्र ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी महँगो शुल्क तिरेर सिकारका लागि आउने गरेका छन् । अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत मुलुकबाट सिकारी आउने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्या तथा अवस्थाका आधारमा हरेक वर्ष सिकारको कोटा निर्धारण गर्छ । आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी सातवटा ब्लकमा विभाजन गरिएको छ ।
सिकारको व्यवस्थापन तथा मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले कर्मचारी र भरियालाई सम्बन्धित सिकार ब्लकमा परिचालन गर्ने गरेको छ । व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्ष पुग्ने गर्छ । हेलिकप्टर, सहयोगी, बन्दोबस्तीलगायत सिकारका क्रममा लाग्ने खर्च सिकारी आफैँले व्यहोर्ने गर्छन् ।
आरक्ष कार्यालयका अनुसार एक सिकारीले १५ दिनसम्मको सिकार अवधिमा रु २० लाखदेखि ३५ लाखसम्म खर्च गर्ने गरेका छन् । सिकारी, नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जङ्गलमा रहने गर्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्दै आएको छ । नाउर र झारलको मूल्यसँगै ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर तथा अन्य खर्च जोड्दा एक जना सिकारीले ठूलो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नेपाली सिकारीले भने नाउर र झारलको सिकारका लागि प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ ।
विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लामा फैलिएको छ । आरक्षले एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।