काठमाडौं ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । स्मार्टसेलको धितो लिलामसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको इजलासले पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशसँगै उनी जेलबाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् भने नियमित काममा फर्कने बाटोसमेत खुलेको छ ।
यसअघि गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो । बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले गत जेठ ६ गते उनलाई रिहा गर्न आदेश दिएको थियो ।
पाण्डेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निरू दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्चको आदेशपछि थुनामुक्त भएका पाण्डेविरुद्ध सरकारले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा भएको थुनछेक बहसपछि जिल्ला अदालतले पाण्डेलाई धरौटीमा रिहा गर्दै बाहिरै बसेर मुद्दा लड्न सक्ने सुविधा दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएर सञ्चालनमा आएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) अनुसार २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः खारेज भएको थियो ।
स्मार्ट टेलिकमको सम्पत्ति सरकारको अनुमति बिना मिलेमतोमा बिक्री गरी कर्जा असुल गरेको आरोपमा पाण्डेसहितका व्यक्तिविरुद्ध ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो ।