काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार, निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए त्यसविरुद्ध कारबाही गर्ने निकाय कुन हो भन्ने प्रश्न उनले गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राईले अख्तियारको प्रभावकारितामाथि प्रश्न उठाउँदै आयोगलाई निष्पक्ष र निर्भय भएर काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले अख्तियारका आयुक्तहरूलाई बोलाएर दबाबमा राखेको भन्ने चर्चाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको माग थियो ।
‘प्रधानमन्त्रीले आयुक्तहरूलाई बोलाएर बन्दी जस्तो बनाउनुभएको कुरा सदनमा पनि उठेको थियो । त्यो दिन आयोगका पदाधिकारीहरूलाई त्यहाँ लगेर के–के गर्न लगाइयो, यसबारे स्पष्ट पारिनुपर्छ,’ उनले भने ।
राईले अख्तियारको क्षेत्राधिकारलाई आर्थिक विषयमा मात्र सीमित गर्न नहुने बताए । अधिकारको दुरुपयोग पनि भ्रष्टाचारकै स्वरूप भएकाले प्रशासनिक तथा पदीय अधिकारको दुरुपयोगमा समेत आयोग सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
अख्तियारको कामकारबाही कर्मकाण्डी जस्तो देखिएको टिप्पणी गर्दै उनले निष्पक्ष र निर्भय भएर काम गर्न नसके आयोगको औचित्यमाथि नै प्रश्न उठ्ने बताए ।
अनुसन्धानमा समेत विभेद हुने गरेको आरोप लगाउँदै राईले पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीलाई मात्र कारबाहीको दायरामा ल्याउने तर बहालवाला पदाधिकारीलाई उन्मुक्ति दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।