काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षणलाई पुनः अनुबन्ध गरेको छ।
दोस्रो संस्करणमा पनि पोखराबाट खेलेका २७ वर्षीय लक्षणले ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गर्दै टोलीको अभियानमा महत्वपूर्ण योगदान दिएका थिए। एभेन्जर्सले उनको पुनरागमनले टोलीलाई थप सन्तुलित र प्रतिस्पर्धी बनाउने विश्वास लिएको छ।
बायाँहाते ब्याटर तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० क्रिकेटमा ७० खेल खेल्दै ५८ विकेट लिइसकेका छन्। घरेलु तथा विभिन्न फ्रेन्चाइज क्रिकेटमा पनि उनी अनुभवी खेलाडीका रूपमा स्थापित छन्।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले लक्षणको पुनरागमनले टोलीलाई थप मजबुत बनाउने बताए। “सिजन २ मा उनले अनुभव र उत्कृष्ट अलराउन्ड प्रदर्शनमार्फत टोलीलाई ठूलो योगदान दिएका थिए। सिजन ३ मा पनि उनको उपस्थितिले टोली अझ सन्तुलित र प्रतिस्पर्धी बन्ने विश्वास छ,’ उनले भने।
एनपीएल–३ का लागि पोखराले यसअघि मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरिसकेको छ। विवेक राना मगर, सुदीप अर्याल, सन्नी बिके, विपिन आचार्य र प्रतीक पोखरेल अक्सनमार्फत टोलीमा आबद्ध भइसकेका छन्।
पोखराले यसअघि बंगलादेशका अलराउन्डर शाकिब अल हसनलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी अजन्था मेन्डिस छन्।