काठमाडौं ।करातेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसिंह ऐरी ‘हाम्रो खेलकुद वर्ष खेलाडी’ घोषित भएका छन्।
हाम्रो खेलकुद डटकमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित विशेष समारोहमा एरिका र दीपेन्द्रलाई वर्ष खेलाडी सम्मान प्रदान गर्दै जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो।
दीपेन्द्र कार्यक्रममा उपस्थित हुन नसकेपछि उनको तर्फबाट नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले पुरस्कार ग्रहण गरिन्।
पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएकी एरिकाले नेपाली करातेमा आफूलाई स्थापित गरेकी छन्। सन् २०२२ को सेप्टेम्बरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी उनले झन्डै चार वर्षको अवधिमा १८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट २१ पदक जितेकी छन्। यसक्रममा उनले १३ स्वर्ण, ६ रजत र २ कांस्य पदक जितेकी छन्।
एरिकाले १९औँ एसियाली खेलकुद, २०औँ सिनियर एसियन कराते च्याम्पियनसिप, कराते वान प्रिमियर लिग तथा डब्लूकेएफ कराते वान सिरिजजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन्। उनको यही निरन्तर प्रदर्शनलाई कदर गर्दै वर्ष खेलाडी सम्मान प्रदान गरिएको हो।
यता, क्रिकेटर दीपेन्द्रले पनि पछिल्लो एक वर्षमा ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका छन्।
आईसीसी टी–२० विश्वकपमा नेपालका उत्कृष्ट प्रदर्शनकर्तामध्ये एक रहेका दीपेन्द्रले पछिल्ला १५ टी–२० अन्तर्राष्ट्रिय खेलमा १३३ को स्ट्राइक रेट र ३९.७० को औसतमा ३९७ रन बनाएका छन्। यस अवधिमा उनले तीन अर्धशतक प्रहार गरेका छन् भने बलिङमा १० विकेट लिएका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनको प्रदर्शन उल्लेखनीय रह्यो। पछिल्ला १५ ओडीआई खेलमा उनले ४१ भन्दा बढीको औसतमा ६१९ रन बनाएका छन्। यसक्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् भने बलिङमा १६ विकेट हात पारेका छन्।
हाम्रो खेलकुदले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष नेपाली खेलकुदमा उत्कृष्ट योगदान पुर्याउने खेलाडीलाई ‘वर्ष खेलाडी’ सम्मान प्रदान गर्दै आएको छ। यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गरेका एरिका गुरुङ र दीपेन्द्रसिंह ऐरी उक्त सम्मानका हकदार बने।