काठमाडौँ । मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका कीर्तिमानी कराते खेलाडी सुनिल लामा तथा उदीयमान खेलाडी याङतेन लामालाई बुधबार आयोजित एक विशेष समारोहमा सम्मान गरेको छ।
बङ्गलादेशमा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुद (साग) तथा १३औँ एसिया–प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका सुनिल लामालाई नेपाली कराते क्षेत्रमा पुर्याएको विशिष्ट योगदान र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो। सोही अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेका उनका छोरा याङतेन लामालाई पनि सम्मान गरिएको छ।
हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका सुनिल लामाले त्यहाँ तथा काठमाडौँको रानीवनस्थित ‘च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमी’ सञ्चालन गर्दै कराते खेलको विकास, प्रशिक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मम्स इन्टरनेसनल नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रन्जीता लामाले नेपाली करातेका वरिष्ठ तथा उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको बताइन् । उनले च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले नेपालबाट अमेरिका पुग्ने खेलाडी तथा खेलकर्मीलाई गर्दै आएको स्वागत, सहयोग र आतिथ्यको समेत प्रशंसा गरिन्।
कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित सांगीतिक समूह ‘एक्स ब्यान्ड’ का ड्रमर सुरेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र तथा खादा प्रदान गरेका थिए। त्यसैगरी, १३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता तथा राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्दे काजी श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते खेलाडी सुमन तिमल्सिनाले पनि खादा ओढाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै सुनिल लामाले आफू तथा आफ्नो छोराको खेल यात्राको कदर गर्दै सम्मान गरेकोमा मम्स इन्टरनेसनल नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि नेपाली करातेको विकास र नयाँ पुस्ताका खेलाडी उत्पादनमा निरन्तर योगदान दिँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरे।