काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले सोमबार आफ्नो अन्तिम लिग खेलमा उज्वेकिस्तानको सामना गर्दैछ।
इस्लामावादस्थित लियाकत जिम्न्यासियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
लगातार चार खेलमा हार बेहोरेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। नेपालले खेलेका चारमध्ये तीन खेल पाँचौं सेटसम्म पुगे पनि अन्ततः हार बेहोरेको थियो भने घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। चार खेलबाट ३ अंक मात्र जोडेको नेपाल ६ टोली सहभागी प्रतियोगिताको अंकतालिकाको पुछारमा छ।
यता, उज्वेकिस्तानले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोर्दै ६ अंक जोडेको छ।
नेपालको सेमिफाइनल यात्रा अझै सैद्धान्तिक रूपमा सम्भव भए पनि त्यसका लागि कठिन समीकरण पार गर्नुपर्नेछ। नेपालले उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्नुपर्नेछ भने अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा आउन आवश्यक हुनेछ।
हाल घरेलु टोली पाकिस्तान चारै खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा छ। उज्वेकिस्तान र बंगलादेशको समान ६ अंक छ भने श्रीलंकाको ५ र कजाखस्तानको ४ अंक रहेको छ।
सोमबार नै बंगलादेश र श्रीलंका तथा पाकिस्तान र कजाखस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ। लिग चरणका अन्तिम तीन खेलपछि सेमिफाइनल पुग्ने चार टोली र पाँचौं स्थानका लागि प्लेअफ खेल्ने दुई टोलीको टुंगो लाग्नेछ। अंकतालिकाको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् भने पुछारका दुई टोलीले पाँचौं स्थानका लागि प्लेअफ खेल्नेछन्।