काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा लगातार दुई हार बेहोरेपछि नेपाल विश्वकप छनोटमा सिधै स्थान बनाउने दौडमा गम्भीर दबाबमा परेको छ।
नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालको शीर्ष चारभित्र रहँदै सिधै विश्वकप छनोट खेल्ने लक्ष्य झन् कठिन बनेको हो। विदेशी भूमिमा ब्याटिङ पूर्ण रूपमा असफल हुँदा नेपालले दुवै खेलमा १६० रनको आँकडा समेत पार गर्न सकेन। दुवै खेलमा नेपाली टोली १५७ रनमै अलआउट भयो।
अब नेपालले यस शृङ्खलामा थप दुई खेल र त्यसपछि अर्को शृङ्खलामा चार खेल गरी कुल ६ खेल खेल्न बाँकी छ। तर बाँकी सबै खेल जिते पनि नेपालले अन्य टोलीहरूको नतिजामा भर पर्नुपर्ने अवस्था देखिएको छ।
अंकतालिकामा नेपाल दबाबमा
हाल लिग–२ अंकतालिकामा अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा छ। स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेदरल्यान्ड्स ३० खेलबाट ३६ अंकका साथ तेस्रो स्थानमा छ। ओमान २८ खेलबाट ३१ अंक जोड्दै चौथो स्थानमा रहेको छ।
नेपाल ३० खेलबाट २४ अंकमा रहेको छ। समान २४ अंक भए पनि क्यानडाले २८ खेल मात्र खेलेको छ भने नामिबियाले पनि ३० खेल पूरा गरेको छ। यूएईको २४ खेलबाट १४ अंक छ।
लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेल्ने भएकाले नेपालका अब ६ खेल मात्र बाँकी छन्। सबै खेल जिते नेपाल ३६ अंकमा पुग्नेछ। तर नेदरल्यान्ड्ससँग अधिकतम अंक बराबरी मात्र गर्न सक्ने अवस्था छ भने ओमान, क्यानडा र नामिबियासँग अझै नेपाललाई उछिन्ने पर्याप्त अवसर बाँकी छ। यूएईले पनि १२ खेल खेल्न बाँकी रहेकाले उत्कृष्ट प्रदर्शन गरे अप्रत्याशित रूपमा माथि उक्लिन सक्छ।
बाँकी खेल अब ‘गर या मर’
नेपालले हालको शृङ्खलामा नामिबिया र नेदरल्यान्ड्ससँग एक–एक खेल खेल्न बाँकी छ। त्यसपछि अन्तिम शृङ्खलामा ओमान र क्यानडासँग दुई–दुई खेल खेल्नेछ।
शीर्ष चारमा पुग्ने सम्भावना जीवित राख्न नेपालले अब बाँकी सबै खेल जित्नुपर्ने लगभग निश्चित भइसकेको छ। तर सबै खेल जित्दा पनि अन्य टोलीको नतिजाले नेपालको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ।
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी कन्डिसनमा लगातार दुई हारले नेपालको अभियानलाई ठूलो धक्का पुगेको छ। अब प्रत्येक खेल नेपालका लागि निर्णायक बन्नेछ।
शीर्ष चार किन महत्वपूर्ण?
सन् २०२३ देखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय विश्वकप छनोटको मुख्य आधार हो। आठ टोली सहभागी यस प्रतियोगितामा प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्छ।
प्रतियोगिता सकिएपछि शीर्ष चार टोली सिधै विश्वकप छनोटमा पुग्नेछन् र उनीहरूको एकदिवसीय मान्यता स्वतः सुरक्षित हुनेछ। शीर्ष ६ टोलीले भने ओडीआई मान्यता कायम राख्नेछन्।
नेपालले अघिल्लो लिग–२ मा शानदार पुनरागमन गर्दै शीर्ष चारमा स्थान बनाएको थियो र सिधै विश्वकप छनोट खेलेको थियो। यसपटक शीर्ष चारमा पर्न नसके नेपालको ओडीआई क्रिकेटमा गिरावट आएको सन्देश जानेछ, जबकि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपालले निरन्तर प्रगति गरिरहेको छ।
शीर्ष चारबाट बाहिर रहने टोलीहरूले विश्वकप च्यालेन्ज लिगबाट आएका चार टोलीसँग प्लेअफ लिग खेल्नुपर्नेछ। त्यसपछि मात्र विश्वकप छनोटमा पुग्ने अर्को अवसर प्राप्त हुनेछ, जुन प्रक्रिया अझ लामो र चुनौतीपूर्ण हुनेछ।
ब्याटिङ फेरि कमजोर
नेपालको सबैभन्दा ठूलो समस्या ब्याटिङ बनेको छ।
नामिबियाविरुद्ध कप्तान रोहित पौडेलले ३१ तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए पनि अन्य ब्याटरले अपेक्षाअनुसार योगदान दिन सकेनन्।
नेदरल्यान्ड्सविरुद्ध आरिफ शेखले ९० बलमा सर्वाधिक ४१ रन बनाए भने गुल्शन झाले २९ रन जोडे। तर मध्यक्रमबाट ठूलो साझेदारी बन्न नसक्दा नेपाल पुनः १५७ रनमै सीमित भयो।
ओपनरहरूको प्रदर्शन पनि लगातार कमजोर रहँदै आएको छ। कुशल भुर्तेलले दुई खेलमा क्रमशः २ र ९ रन बनाए भने आसिफ शेखले १६ र १४ रनमै सीमित रहे। इशान पाण्डेले पनि ८ र ४ रन मात्र जोड्न सके।
शीर्षक्रमबाट बलियो सुरुआत नहुँदा मध्यक्रममाथि अत्यधिक दबाब परेको देखिएको छ।
बलरले संघर्ष गरे, ब्याटिङले साथ पाएन
नेदरल्यान्ड्सविरुद्ध नेपाली बलरले उत्कृष्ट सुरुआत गरेका थिए। १५८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई नेपालले ७४–४ को अवस्थामा पुर्याएको थियो।
तर त्यसपछि बनेको महत्वपूर्ण साझेदारीले खेल नेपालको नियन्त्रणबाट बाहिर गयो र नेदरल्यान्ड्सले सहज रूपमा लक्ष्य पूरा गर्यो।
यसले बलिङ मात्र पर्याप्त नहुने र प्रतिस्पर्धात्मक योगफल बनाउन ब्याटिङले पनि जिम्मेवारी लिनुपर्ने आवश्यकता फेरि उजागर गरेको छ।
त्यसको विपरीत नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै २५१ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो र नामिबियालाई १९३ रनमा समेट्दै जित निकालेको थियो।
यसले विदेशी कन्डिसनमा प्रतिस्पर्धा गर्न नेपालले विशेषगरी ब्याटिङमा उल्लेखनीय सुधार गर्नुपर्ने स्पष्ट देखाएको छ।
परिवर्तनको सम्भावना
लगातार ब्याटिङ असफल भएपछि आगामी खेलमा टोली संयोजनमा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ। अर्जुन कुमाल र भीम सार्कीलाई अवसर दिने सम्भावना रहेको छ। नेपालको विश्वकप छनोटको आशा जोगाइराख्न अब यी परिवर्तनसँगै ब्याटिङबाट पनि उल्लेखनीय सुधार आवश्यक देखिएको छ।