काठमाडौँ ।आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आठौँ त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ।
नेदरल्यान्ड्सको युट्रेच्टमा भइरहेको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।
नेपाल यसअघि बुधबार सम्पन्न श्रृङ्खलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो। हालसम्म विश्वकप लिग–२ मा २९ खेल खेलेको नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ। त्यस्तै, २८ खेलबाट ३२ अङ्क जोडेको नेदरल्यान्ड्स तालिकाको चौथो स्थानमा छ।
यस खेलका लागि नेपालको अन्तिम ११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन्।