काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सको उट्रेचमा जारी एकदिवसीय खेलमा नेपाल कमजोर ब्याटिङ प्रदर्शनका कारण १५७ रनमै अलआउट भएको छ। पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमा सीमित भएपछि नामिबियाले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको हो।
नेपालको सुरुआत अत्यन्त निराशाजनक रह्यो। ओपनर कुशल भुर्तेल इनिङ्सको दोस्रो बलमै २ रन बनाएर आउट भए। अर्का ओपनर इसान पाण्डेले लामो समय क्रिजमा टिके पनि ३१ बलमा मात्र ८ रन बनाउन सके।
विकेटकिपर ब्याटर आसिफ शेख १६ रनमा क्याच आउट भएपछि नेपाल १५.२ ओभरमा ४० रन जोड्दा तीन विकेट गुमाएर दबाबमा परेको थियो।
संकटमा परेको नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि ५३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर ३१औँ ओभरमा दीपेन्द्र ३० रनमा बर्नार्ड स्कोल्ट्जको बलमा बोल्ड भएपछि नेपालको ब्याटिङ फेरि धराशायी बन्न पुग्यो।
दीपेन्द्रको विकेटपछि आरिफ शेख शून्यमै आउट भए भने कप्तान रोहित पौडेल पनि ६० बलमा ३१ रन बनाएर ज्याक ब्रासेलको शिकार बने। ९३/३ को अवस्थाबाट नेपाल केही समयमै ९९/६ मा खुम्चिएको थियो।
अन्तिमतिर पुछारका ब्याटरहरूले संघर्षपूर्ण प्रदर्शन गर्दै नेपालको स्कोर १५० रन पार गराए। गुलशन झाले ३८ बलमा २० रन बनाए भने सोमपाल कामीले ३० बलमा १५ रन जोडे। करन केसीले १५ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १८ रनको उपयोगी योगदान दिए। नन्दन यादव १ रनमा आउट हुँदा सन्दीप लामिछाने १ रनमा अविजित रहे।
नामिबियाका लागि जेजे स्मिट सर्वाधिक प्रभावशाली साबित भए। उनले ९.५ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ६ विकेट लिए। यस्तै, बर्नार्ड स्कोल्ट्ज र ज्याक ब्रासेलले समान २–२ विकेट हात पार्दै नेपालको ब्याटिङलाई पूर्ण रूपमा धराशायी बनाए।