काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार तत्काल रोक्न सम्भव नभएको र त्यसो गर्नु उपयुक्त पनि नहुने बताएका छन् । सरकारको प्राथमिकता वैदेशिक रोजगारलाई रोक्नेभन्दा सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने रहेको उनले बताएका हुन् ।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले विश्वव्यापीकरणका कारण श्रमिकको अन्तरदेशीय आवतजावत स्वाभाविक प्रक्रिया बनेको उल्लेख गर्दै नेपाली श्रमिकका लागि सुरक्षित र उच्च प्रतिफल दिने श्रम बजार विस्तारमा सरकार केन्द्रित रहेको बताए ।
उनले श्रमिकलाई शोषणबाट जोगाउन, उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, आवास तथा आधारभूत सेवा–सुविधा सुनिश्चित गर्ने उद्देश्यले युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिए । वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन नयाँ र सुरक्षित गन्तव्यको खोजी पनि जारी रहेको उनको भनाइ थियो ।
मन्त्री यादवले आन्तरिक श्रम बजारमा हुने श्रम शोषणसम्बन्धी उजुरीका लागि श्रम विभागमार्फत अनलाइन प्लेटफर्म सञ्चालनको तयारी भइरहेको बताए । प्रणाली सञ्चालनमा आएपछि श्रमिकले सामान्य उजुरीका लागि पनि श्रम कार्यालय पुग्नुपर्ने बाध्यता हट्ने र सेवा प्रवाह थप सहज हुने उनले बताए ।
विगतमा कानुन कार्यान्वयन प्रभावकारी नहुँदा वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै मन्त्री यादवले अब त्यस्ता गतिविधिविरुद्ध कडाइका साथ कारबाही गरिने बताए । वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन सरकार परिणाममुखी ढंगले अघि बढिरहेको उनको भनाइ थियो ।
यसअघि वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगीका उजुरी अनलाइनमार्फत दर्ता गर्न सकिने प्रणाली पनि सञ्चालनमा ल्याएको छ।