विराटनगर । विभिन्न माग राख्दै इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । रगतमा ग्लुकोजको मात्रा निकै कम हुनुका साथै पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् ।
डा. केसीले बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई शनिबार साँझ इलाम अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।
इलाम अस्पतालका चिकित्सक डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ । चिकित्सकले ग्लुकोज दिन खोजे पनि उनले लिन अस्वीकार गरिरहेका छन् ।
डा. केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा निर्धारित मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन र सरकारी शैक्षिक संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नुपर्नेलगायत ६ बुँदे माग अघि सारेका छन् ।
त्यस्तै, विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत थप गरिएका विद्यार्थी सिट खारेज गर्नुपर्ने, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि लामो समयदेखि अभियान चलाउँदै आएका डा. केसीको यो २५औँ अनशन हो ।