काठमाडौँ । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक नजिकै गुडिरहेको एक निजी कारमा मङ्गलवार बिहान अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार आगलागी लगत्तै प्रहरी र ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणमा आएपछि जाँच गर्दा गाडीभित्र चालकको जलेको अवस्थामा शव फेला परेको हो।
प्रहरीका अनुसार आगलागी भएको उक्त कार नबिल बैङ्कको नाममा दर्ता रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृतक पुरुषको सनाखत हुन बाँकी रहेको छ। गाडीमा एक्कासि कसरी आगो लाग्यो भन्नेबारे प्राविधिक टोलीसहित प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।