काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे तय गरिएको उक्त भेटमा स्वदेशी तयारी पोशाक उद्योगका चुनौती, सम्भावना तथा सुधारका उपायबारे छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।
छलफलमा स्वदेशी तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीले भोगिरहेका नीतिगत तथा प्रक्रियागत समस्या, उत्पादन र निर्यात प्रवर्धन, रोजगारी सिर्जना तथा उद्योग क्षेत्रको समग्र विकासका विषयलाई प्राथमिकताका साथ उठाइने बताइएको छ।
प्रधानमन्त्री शाहले पछिल्ला समयदेखि निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग नियमित संवादलाई निरन्तरता दिँदै आएका छन्। उनी उद्योगीका समस्या समाधान, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सुझाव सङ्कलन गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिँदै आएका छन्।