काठमाडौँ। फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत अवार्ड प्रदान गरिएको छ। विश्व च्याम्पियन स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्डका विजेता बने।
स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीको खेल सञ्चालन गरेका थिए। उनले अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बल जिते। मेस्सीले सिल्भर बल तथा एम्बाप्पेले ब्रोन्ज बल अवार्ड प्राप्त गरे।
फ्रान्सका कप्तान किलियन एम्बाप्पे प्रतियोगिताका सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्डका हकदार बने। उनले प्रतियोगिताभर १० गोल गर्दै लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो खेलाडीको कीर्तिमान पनि कायम गरे।
स्पेनका गोलरक्षक उनाई सिमोन उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ्स अवार्डबाट सम्मानित भए। उनले प्रतियोगिताका आठ खेलमध्ये सात खेलमा क्लिनसिट राख्दै केवल एक गोल मात्र बेहोरे। यसक्रममा उनले विश्वकपमा लगातार ६०० मिनेटभन्दा बढी समय गोल नखाने कीर्तिमानसमेत बनाए।
यस्तै, स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित भए। उनले प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै स्पेनको उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका थिए।
सोमबार बिहान सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलको मद्दतले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको थियो।