काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
फ्रेन्चाइजले आइतबार मेन्डिसको नियुक्तिको औपचारिक घोषणा गर्दै आगामी सिजनको तयारीअन्तर्गत टोलीको प्राविधिक संरचना सुदृढ बनाउन उनलाई जिम्मेवारी दिइएको जनाएको छ ।
श्रीलंकाका सफल स्पिनरमध्ये एक मानिने मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । सन् २००८ को एसिया कपमा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहोनीले मेन्डिसको नेतृत्व क्षमता, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय अनुभवले टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव पर्ने बताए । अनुभवी तथा युवा खेलाडीको विकासमा पनि उनको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ ।
नियुक्तिपछि मेन्डिसले पोखरा एभेन्जर्समा आबद्ध हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै नेपालमा क्रिकेटले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरेको बताए । उनले एनपीएलमा उच्चस्तरीय प्रतिस्पर्धा गर्दै टोलीको पूर्ण क्षमता प्रदर्शन गराउन आफू प्रतिबद्ध रहने उल्लेख गरे ।