काठमाडौँ । नेपाल महिला यु-१९ क्रिकेट टोली एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।
टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमै समेटेको थियो। नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए। त्यस्तै, अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले समान १–१ विकेट हात पारे।
८७ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक ब्याटिङ गर्दै ११.२ ओभरमै जित हासिल गर्यो। नेपालले एक विकेट मात्र गुमाएको थियो। ओपनर साना प्रवीण १६ बलमा १८ रन बनाएर आउट भइन्। त्यसपछि सावित्री धामीले ३२ बलमा ४१ रनको योगदान दिइन् भने कप्तान सोनी पाख्रीनले २२ बलमा १८ रन बनाएर अविजित रहिन्।
समूह चरणमा नेपालले यसअघि सिंगापुर र हङकङलाई पराजित गर्दै शानदार प्रदर्शन गरेको थियो। अब सेमिफाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ।