काठमाडौं । थाइल्यान्डमा हुने १२औँ एशियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बैंककमा जुलाई १७ देखि २७ सम्म हुने प्रतियोगितामा नेपालबाट ६ पुरुष र १० महिला गरी १६ खेलाडी सहभागी हुनेछन् । खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधवार थाइल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले टोलीलाई बिदाइ गरे ।
बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले पौडी खेलको पूर्वाधार विकास र स्तरोन्नतिका लागि सरकारले आवश्यक काम गर्ने बताए । अहिलेसम्म सरकार, राष्ट्रिय खेलकुद परिषद् र खेल संघले खेलाडीलाई अपेक्षित वातावरण दिन नसक्दा पनि खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरिरहेको भन्दै उनले खेलाडीको प्रशंसा गरे । आफ्नो कार्यकालमा खेलाडीका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
प्रतियोगितामा नेपाली टोलीको प्रमुख प्रशिक्षकमा सुदीप राजभण्डारी, प्रशिक्षकमा सुमन महर्जन र व्यवस्थापकमा राजु महर्जन रहेका छन् ।
पुरुषतर्फ आरभ अग्रवाल, आरोन भण्डारी, आरुष अवाले, अभिभ प्रधान, इसान क्षेत्री तिवारी, रेवन्तबहादुर श्रेष्ठ तथा महिलातर्फ आभा वैद्य, आध्याश्री जोशी, अनाया श्रेष्ठ, देवान्शी जोशी, इरा अमात्य, पलिशथा शाक्य, राज्भी सौम्य शाह, सम्यामी घिमिरे, संस्कृति अधिकारी र सेरेन अवाले सहभागी छन् ।
नेपाल पौडी संघका सचिव गंगा गोलेका अनुसार नेपाली खेलाडीले प्रतियोगिताका १०८ विधामा व्यक्तिगत र रिले दुवै स्पर्धामा चुनौती प्रस्तुत गर्नेछन् । उनीहरूले तीन उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीमा रहेका अभिभ प्रधान आगामी जापानमा हुने २०औँ एशियाली खेलकुदका लागि छनोट भइसकेका खेलाडी हुन् ।
एशियाका उत्कृष्ट जुनियर पौडीबाज सहभागी हुने प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास नेपाल पौडी संघले लिएको छ ।