काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली तथा आसपासका जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रमा पनि आकस्मिक बाढीको उच्च जोखिम रहेकाले विशेष सतर्कता आवश्यक छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेश प्रदेश, लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान, गण्डकी प्रदेशका केही हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार आज राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। साथै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।