काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनल चरणको समीकरण पूरा भएको छ। क्वार्टरफाइनलका प्रतिस्पर्धात्मक खेलहरू सकिएसँगै उपाधि यात्रामा रहेका शीर्ष चार टोलीको टुङ्गो लागेको हो।
विश्वकपको फाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको छ। चारै टोली उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएका छन्।
सेमिफाइनलको पहिलो भिडन्त फ्रान्स र स्पेनबीच हुनेछ। डल्लास स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार मंगलबार राति पौने १२ बजे सुरु हुनेछ। युरोपका दुई बलिया टोलीबीचको यो प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यस्तै, दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड आमनेसामने हुनेछन्। एटलान्टा स्टेडियममा हुने खेलमा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो इङ्गल्यान्डको चुनौती सामना गर्नेछ।
सेमिफाइनलका विजेता टोलीहरूबीच विश्वकप उपाधिका लागि जुलाई १९ तारिख आइतबार न्युयोर्क–न्युजर्सी स्टेडियममा फाइनल खेल हुनेछ।
सेमिफाइनल तालिका:
- पहिलो सेमिफाइनल: फ्रान्स विरुद्ध स्पेन — मंगलबार, जुलाई १४
- दोस्रो सेमिफाइनल: अर्जेन्टिना विरुद्ध इङ्गल्यान्ड — बुधबार, जुलाई १५
- फाइनल: आइतबार, जुलाई १९