काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमण टोलीका लागि चुनौतीपूर्ण हुने बताएका छन्। घरेलु मैदानको तुलनामा युरोपको अवे कन्डिसनमा खेल्न कठिन भए पनि उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिने उनले बताएका हुन्।
नेपालले जुलाई २१ देखि नेदरल्यान्ड्समा घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखला खेल्दैछ। शीर्ष तीनको दौडलाई जीवन्त राख्न नेपालका लागि यो शृंखला महत्वपूर्ण मानिएको छ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको टोली बिदाइ कार्यक्रममा कप्तान रोहितले पछिल्ला दुई घरेलु शृंखलामा प्राप्त सफलताले टोलीको मनोबल उच्च रहेको बताए। सोही लयलाई निरन्तरता दिन सके नेदरल्यान्ड्स भ्रमणबाट पनि सकारात्मक नतिजा आउने उनको विश्वास छ।
रोहितले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध जित निकाल्ने लक्ष्यसहित टोली मैदान उत्रिने बताए। यद्यपि, बाँकी रहेका दुई अवे शृंखलामध्ये नेदरल्यान्ड्स भ्रमण सबैभन्दा कठिन हुने उनको बुझाइ छ। त्यसअनुसार टोलीले तयारी गरिरहेको उल्लेख गर्दै उनले युरोपको कन्डिसनमा जतिसक्दो उत्कृष्ट खेल्ने टोलीको लक्ष्य हुने बताए ।
नेपालले गत अप्रिल र मे महिनामा घरेलु मैदानमा सम्पन्न दुई लिग–२ शृंखलामा आठमध्ये ६ खेल जित्दै शीर्ष तीनमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो। हाल नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ। तेस्रो स्थानको नेदरल्याण्ड्स र ओमानले समान खेलबाट क्रमशः ३२ अंक र ३१ अंक जोडेका छन् । नामिबिया भने २२ अंकका साथ नेपालभन्दा दुई अंकले पछाडि रहेको छ।
यसैबीच, क्यानका सचिव पारस खड्काले मुख्य प्रशिक्षक स्टुअर्ट लको पासपोर्ट समयमै नवीकरण हुन नसक्दा उनी टोलीको प्रारम्भिक तयारीमा सहभागी हुन नसकेको जानकारी दिए। त्यसका बाबजुद टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास उनले व्यक्त गरे।
पछिल्लो समय नेपाली टोलीले प्रदर्शनमा निरन्तरता र आत्मविश्वास देखाएको उल्लेख गर्दै खड्काले त्यसलाई आगामी शृंखलामा पनि कायम राख्नुपर्नेमा जोड दिए।
क्यानले आइतबार राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै नेपाली टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको थियो। अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायत पदाधिकारीले टोलीलाई सफल यात्राको शुभकामना दिएका थिए।
नेपाली टोली मंगलबार जर्सी प्रस्थान गर्नेछ। जर्सीमा जुलाई १३ र १५ मा दुई वटा ५० ओभरका अभ्यास खेल खेलेपछि टोली नेदरल्यान्ड्स पुग्नेछ, जहाँ जुलाई २१ देखि विश्वकप लिग–२ को महत्वपूर्ण त्रिदेशीय शृंखला सुरु हुनेछ।