काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटी सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।
योङ स्टार फाउण्डेसनले शनिवार कार्यक्रममा आयोजना गर्दै रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मान गरेको हो । योङ स्टार फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले अवार्ड र नगद एक लाख रुपैँयासहित सम्मान गरेका हुन् । रेनुका घरेलु फुटबलमा एपिएफबाट खेल्दै आइरहेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा योङ स्टार फाउण्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गर्न शुरु गरेको हो । गत वर्ष यो अवार्ड प्रिती राइले जितेकी थिइन् । घरेलु महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै एक महिला खेलाडीलाई वर्षेनी सम्मान गर्ने योजनाअनुसार रेनुकालाई सम्मान गरिएको अध्यक्ष सिंहले बताए ।
सन् २०१० देखि उनले नियमित रुपमा नेपाली महिला टिमबाट खेलिरहेकी छन् । राष्ट्रिय जर्सीमा उनले ६३ खेल खेलिसकेकी छन् । सम्मानित भएपछि रेनुकाले एकदमै खुशी लागेको प्रतिक्रिया दिइन् ।
‘यो अवार्ड पाउँदा धेरै खुशी छु । परिवारकै कारण नेपाली फुटबलमा लगातार योगदान गर्न पाएको छु,’ रेनुकाले भनिन्, ‘यो अवार्डसहित सम्मान गर्नुभएकोमा फाउन्डेसप्रति आभारी छु । यस्ता अवार्डले गर्दा लगातार खेलकुदमै लाग्न प्रेरित गरिरहेको हुन्छ ।’
सोही कार्यक्रमबाट ‘अल्फा सिएरा माइक’ नामक पुस्तक विमोचन गरिएको छ । योङ स्टार फाउण्डेसका अध्यक्ष मोहनचन्द्र सिंहबाटै लेखिएको कितावमा उनले आफ्नो जिवनको भोगाई, नेपाली उड्डयन, खेलकुद र मिडियासँग जोडिएका विषय समावेश गरेका छन् ।