काठमाडौँ । कर्णाली प्रदेशका मनोज तामाङ र नेपाल पुलिस क्लवका प्रदीप पार्कीले ३०औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवार भएको पुरुष ८० केजी तौलसमूहमा मनोज र प्रदीप सेमिफाइनलमा पुगेका हुन् । मनोजले बागमती प्रदेशका दिनेश खड्गमाथि सहज जित निकाले । प्रदीप भने गण्डकी प्रदेशका अमिस थापामाथि रेफ्रीको बहुमत निर्णयको आधार विजयी भएका हुन् । निर्धारित तीन राउन्डको खेल बराबरी भएको थियो । त्यसपछि पाँच जजहरूले एकैपटक प्रदीपलाई विजयी घोषणाको निर्णय दिए । उक्त निर्णयपछि खेलाडी अमिस र उनका परिवारले गलत निर्णय दिएको भन्दै असन्तुष्ट व्यक्त गर्दै विवाद पनि सिर्जना भयो । अमिसले आफ्ना प्रतिद्वन्द्वी पटकपटक वार्निङ पाए पनि जित दिइएको गलत रहेको धारणा राखे ।
यसै तौलसमूहमा त्रिभुवन आर्मी क्लबका प्रदीप श्रेष्ठ र कोशी प्रदेशका रोनित कार्की सेमिफाइनलमा पुगेका छन् । रोनितले लुम्बिनी प्रदेशका हिमाल बुढामगर र सुदूरपश्चि प्रदेशका पासाङ शेर्पालाई हराएका हुन् । महिला ६० केजी तौलसमूहमा त्रिभूवन आर्मी क्लबकी पुनम रावलले प्रिक्ष्या लामाबाट वाकओभर पाएपछि सेमिफाइनलमा पुगिन् । ७५ केजीमा लुम्बिनीकी पूजा विकले अन्तिम चारमा स्थान सुरक्षित गरिन् । उनले गण्डकीकी जोशिका श्रेष्ठलाई ३–२ ले हराइन् । सोही तौलसमूहमा बागमतीकी बिना महर्जनले एपिएफकी सरस्वती रानामगरलाई वाकओभरमार्फत पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिन् । पुरुषतर्फ ५५ केजीमा आर्मीका प्रेम चौधरी, वागमतीका मदनकृष्ण डंगोल, मधेशका लक्ष्मण राई र सुदूरपश्चिम प्रदेशका पुकार तिमल्सिना सेमिफाइनलमा प्रवेश गरे ।
लक्ष्मणले पहिलो राउण्डमै नकआउट जित निकाले भने पुकारले वाकओभर पाए । ६० केजीमा बागमतीका मिलन सार्की, लुम्बिनीका सन्देश शाही, मधेसका छिरिङ वाङ्दी शेर्पा र आर्मीका नितेश नेपाली विजयी हुँदै अन्तिम चारमा पुगे । मिलनले दोस्रो राउन्डमा र नितेशले तेस्रो राउन्डमा रेफ्री स्टप कन्टेस्टमार्फत जित निकाले । ७० केजीमा मधेसका आर्यन तामाङ, आर्मीका गेशकुमार श्रेष्ठ, पुलिसका सुजन पौडेल र सुदूरपश्चिमका भरत चन्दले सेमिफाइनल यात्रा तय गरे । गेशीकुमारले पहिलो राउण्डमै तथा सुजनले तेस्रो राउन्डमा जित निकाले ।
प्रतियोगितामा पुरुषतर्फ ६ तथा महिलामा पाँच गरी ११ स्पर्धामा ७४ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ महासंघले जनाएको छ । प्रतियोगिता असार १४ गतेसम्म सञ्चालन हुनेछ भने शनिबार सेमिफाइनलका प्रतिस्पर्धा हुनेछन् ।