सुनसरी — नेपाली क्रिकेट वृत्तमा सुनसरी जिल्लाको नाम आउनासाथ अग्रपंक्तिमा आउने नाम हो— चेतनाथ पौडेल। विगत दुई कार्यकालदेखि सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले सुनसरीको क्रिकेटलाई उकास्न निकै ठूलो भूमिका खेलेका छन्।
उनकै कार्यकाल र मेन्टरसिपमा सुनसरीमा तल्लो तह देखि नै क्रिकेटको जग बलियो बनाउने काम भयो। उनको नेतृत्वमा मेयर कप, विद्यालय तथा कलेज स्तरीय क्रिकेट प्रतियोगिताहरू निरन्तर र सफलतापूर्वक आयोजना गरिए, जसका कारण जिल्लाले धेरै नयाँ र प्रतिभावान खेलाडीहरू उत्पादन गर्न सफल भयो।
नेपाली राजनीति र खेलकुदका विभिन्न संघ-संस्थाहरूमा एउटै व्यक्ति वर्षौंसम्म कुर्सीमा टिकिरहन खोज्ने प्रवृत्ति हाबी भइरहेका बेला पौडेलले भने एक फरक र उदाहरणीय निर्णय लिएका छन् । आफ्नो वर्तमान कार्यकाल केही दिनमा समाप्त हुन लागेको सन्दर्भमा, उनले आगामी निर्वाचनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी नदिने घोषणा गरेका छन्।
नेतृत्व हस्तान्तरणको यो संस्कृतिले नेपाली खेलकुदमा एउटा सकारात्मक र नयाँ सन्देश दिएको छ। पदभन्दा खेलको विकास र नयाँ पुस्ताको आगमनलाई प्राथमिकता दिने पौडेलको यो निर्णयको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।