काठमाडौं । आगामी विश्वकपमा आयोजक राष्ट्र क्यानडामाथि इतिहासमै पहिलो पटक समूह चरण पार गर्ने दबाब र अपेक्षा दुवै रहनेछ। समूह ‘बी’ मा क्यानडासँगै स्विट्जरल्यान्ड, कतार र बोस्निया–हर्जगोभिना रहेका छन्।
बोस्निया–हर्जगोभिना त्यही टोली हो, जसले विश्वकप छनोटको प्लेअफमा चार पटकको विश्व च्याम्पियन इटालीलाई पराजित गर्दै सबैलाई चकित पारेको थियो। त्यसैले समूह ‘बी’ प्रतिस्पर्धात्मक र रोमाञ्चक रहने अपेक्षा गरिएको छ।
क्यानडाले आफ्ना सबै समूह चरणका खेल घरेलु मैदानमा खेल्ने भएकाले समर्थकको ठूलो साथ पाउनेछ। यसले टोलीलाई सकारात्मक नतिजा निकाल्न थप प्रेरणा दिने विश्वास गरिएको छ।
क्यानडा : घरेलु समर्थनसँगै नयाँ इतिहासको खोजी
क्यानडा परम्परागत रूपमा आइस हक्कीका लागि परिचित राष्ट्र भए पनि पछिल्ला वर्षहरूमा फुटबलमा पनि उल्लेखनीय प्रगति गरिरहेको छ। आयोजक राष्ट्रका रूपमा विश्वकप खेल्दै गर्दा क्यानडाले विश्व फुटबलमा आफ्नो प्रभाव स्थापित गर्ने लक्ष्य राखेको छ।
क्यानडा यसअघि सन् १९८६ र २०२२ मा विश्वकपमा सहभागी भएको थियो। तर दुवै अवसरमा टोली समूह चरणबाट अघि बढ्न सकेको थिएन।
मुख्य प्रशिक्षक जेसी मार्शको नेतृत्वमा क्यानडा आक्रामक, आत्मविश्वासी र उच्च गतिमा खेल्ने शैली विकास गरिरहेको छ। मार्शका अनुसार टोलीले खेलाडीहरूको क्षमता उच्च स्तरमा रूपान्तरण गर्ने दिशामा काम गरिरहेको छ।
चार वर्षअघि कतार विश्वकपमा क्यानडा समूह चरणबाटै बाहिरिएको थियो। यद्यपि क्रोएसियाविरुद्धको खेलमा अल्फोन्सो डेभिसले गरेको गोल विश्वकप इतिहासमा क्यानडाको पहिलो गोल बनेको थियो।
हाल पनि बायर्न म्युनिखका स्टार अल्फोन्सो डेभिस क्यानडाका सबैभन्दा महत्वपूर्ण खेलाडी मानिन्छन्। युभेन्टसका फरवार्ड जोनाथन डेभिड र साउथह्याम्पटनका काइल लारिन टोलीका अन्य प्रमुख खेलाडी हुन्।
फिफा विश्व वरीयतामा ३०औँ स्थानमा रहेको क्यानडाले जुन १२ मा टोरन्टोमा बोस्निया–हर्जगोभिनाविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियान सुरु गर्नेछ।
टिम क्यानडा:
गोलकिपरः म्याक्सिम क्रेपेउ, ओवेन गडम्यान, डायन सेन्ट क्लाइर ।
रक्षकः मोइसे बोम्बिटो, डेरेक कोर्नेलियस, अल्फोन्सो डेभिस, लुक डे फोगेरोल्स, एलिस्टिर जोनस्टन, अल्फी जोन्स, रिची लार्या, निको सिगुर, लोइल वाटरम्यान ।
मिडफिल्डरः अली अहमद, टाजन बुचानान, माथियु चोइनिरे, स्टेफन इयुस्टाकियो, मार्सेलो फ्लोर्स, इस्माइल कोने, लियाम मिलर, जोनाथन ओसोरियो, नाथान डाइलान साबिला, ज्याकोब शाफेलबर्ग ।
फरवार्डः जोनाथन डेविड, प्रोमिस डेविड, काइल लारिन, टानी ओलुवासेई ।
स्विट्जरल्यान्ड : निरन्तरता कायम राख्दै अर्को कदमको खोजी
स्विट्जरल्यान्ड पछिल्ला पाँच विश्वकपमा लगातार सहभागी हुँदै आएको टोली हो। पछिल्ला तीन संस्करणमा उसले नकआउट चरणसम्मको यात्रा तय गरेको छ, तर त्यसपछिको सफलता भने हात पार्न सकेको छैन।
स्विट्जरल्यान्डले आफ्नो इतिहासमा तीन पटक विश्वकप क्वार्टरफाइनल खेलेको भए पनि त्यो उपलब्धि धेरै पुरानो भइसकेको छ। टोलीका कप्तान ग्रानिट झाका अनुभवी र प्रभावशाली खेलाडीका रूपमा परिचित छन्।
प्रशिक्षक मुरात याकिनको नेतृत्वमा रहेको स्विस टोलीले विश्वकप छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। छनोटका ६ खेलमा टोलीले केवल दुई गोल मात्र खाएको थियो।
फिफा वरीयतामा १९औँ स्थानमा रहेको स्विट्जरल्यान्डले जुन १३ मा कतारविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।
टिम स्विट्जरल्यान्ड:
गोलकिपरः मार्भिन केलर, ग्रेजोर कोबेल, यिभोन एमभोगो ।
रक्षकः म्यानुअल अकान्जी, औरेले एमेन्डा, इराइ कोमेर्ट, निको इल्भेडी, लुका जाक्वेज, मिरो मुहेइम, रिकार्डो रोड्रिग्वेज, सिल्भान विड्मेर ।
मिड्फिल्डरः मिचेल एबिस्चेर, क्रिस्टियन फास्नाट, रेमो फ्रेउलर, अर्डोन जशारी, योहान मान्जाम्बी, फाबियन रेइडर, जिबरिल शँ, रुबेन भार्गास, ग्रानिट जाका, डेनिस जाकारिया ।
फरवार्डः जेकी एम्डौनी, ब्रेल इम्बोलो, सेडरिक इटेन, डान एनडोये, नोहा ओकाफर ।
कतार : लगानीको प्रतिफल खोज्दै
कतारका लागि यो विश्वकप दोस्रो सहभागिता हो। सन् २०२२ मा आफ्नै भूमिमा विश्वकप आयोजना गर्दा कतार समूह चरणबाटै बाहिरिएको थियो।
त्यो विश्वकपमा कतारका लागि एकमात्र गोल मोहम्मद मुन्तारीले गरेका थिए, जुन कतारको विश्वकप इतिहासकै पहिलो गोल थियो।
स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा रहेको कतारले पछिल्ला दुई दशकदेखि फुटबल पूर्वाधार र विकासमा ठूलो लगानी गर्दै आएको छ। अहिले पनि राष्ट्रिय टोलीका अधिकांश खेलाडी घरेलु लिगमै खेल्छन्।
अनुभवी कप्तान हसन अल हायडोस अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि पुनः टोलीमा फर्किएका छन्। स्ट्राइकर अल्मोइज अली कतारका सबैभन्दा प्रभावशाली आक्रमणकारी खेलाडी मानिन्छन्।
फिफा वरीयतामा ५६औँ स्थानमा रहेको कतारले स्विट्जरल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
टिम कतार:
गोलकिपरः सालाह जाकारिया, मोहमौद अबुनादा, मेशाल बर्शाम ।
रक्षकः हासमी हुसेन, अयुब अलावी, बुवालेम खोउखी, पेड्रो मिगुअल, इसा लाये, लुकास मेन्डेज, सुल्तान अल ब्राके, होमाम अल अमिन ।
मिड्फिल्डरः मोहम्मद अल मानाइ, जसिम जाबेर, करिम बौडियाफ, अहमद फाथी, अब्दुलाहिज हाटेम, असिम माडिबो ।
फरवार्डः थासिन मोहम्मद, इडमिल्सन जुनियर, अल्मोइज अली, अक्रम अफिफ, मोहम्मद मुन्टारी, युसुफ अब्दुल्लरजाक, अहमद अला, हसन अल हेडोज, अहमद अल जनही ।
बोस्निया–हर्जगोभिना : इटालीलाई हराएको आत्मविश्वास
बोस्निया–हर्जगोभिनाले विश्वकप छनोटको निर्णायक प्लेअफमा इटालीलाई हराउँदै प्रतियोगितामा स्थान बनाएको थियो। त्यो जित देशको फुटबल इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक मानिन्छ।
टोलीका स्टार खेलाडी एडिन जेको अझै पनि प्रमुख भरोसाका रूपमा रहेका छन्। ४० वर्षको उमेर नजिक पुगे पनि जेकोले क्लब र राष्ट्रिय टोली दुवैका लागि प्रभावशाली प्रदर्शन जारी राखेका छन्। उनी बोस्नियाका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्।
बोस्निया–हर्जगोभिनाको यो दोस्रो विश्वकप सहभागिता हो। यसअघि सन् २०१४ मा टोली पहिलो पटक विश्वकपमा पुगेको थियो, जहाँ समूह चरणबाटै बाहिरिएको थियो।
फिफा वरीयतामा ६६औँ स्थानमा रहेको टोलीलाई पूर्व कप्तान सेर्गेज बार्बारेजले प्रशिक्षकका रूपमा नेतृत्व गरिरहेका छन्।
टिम बोस्निया हर्जगोभिना:
गोलकिपरः निकोला भासिल, मार्टिन ज्लोमिस्लिक, ओस्मान हाड्जिकिच ।
रक्षकः सियाद कोलासिनाक, अमर डेडिच, निहाद मुजाकिच, निकोला काटिच, तारिक माहारेमोभिच, सेन्ट जेपान राडेल्जिक, डेनिस हाड्जिकाडुनिच, निडाल सेलिक ।
मिड्फिल्डरः अमिर हाड्जियामेटोभिच, इभान सन्जिच, इभान बासिच, डिजेनिस बर्चिच, इर्मिन माहमिच, बेन्जामिन ताहिरोभिच, अमर मेमिच, अर्मिन जिगोभिच, केरिम एलाजबेगोभिच, इस्मिर बाज्राक्टारेभिच ।
फरवार्डः इर्मेडिन दिमिरोभिच, जोभो लुकिच, सामेद बाज्दार, ह्यारिस ताबाकोभिच, इडिन जेको ।
समूह ‘बी’ को पूर्ण खेलतालिका (नेपाली समयअनुसार):
१३ जुन, बिहान ००ः४५ बजे – क्यानडा विरुद्ध बोस्निया हर्जगोभिना (बिएमओ फिल्ड, टोरन्टो)
१४ जुन, बिहान ००ः४५ बजे – कतार विरुद्ध स्विट्जरल्यान्ड (लिभाइज रंगशाला, सान फ्रान्सिस्को)
१९ जुन, बिहान ००ः४५ बजे – स्विट्जरल्यान्ड विरुद्ध बोस्निया हर्जगोभिना (सोफी रंगशाला, क्यालिफोर्निया)
१९ जुन, बिहान ०३ः४५ बजे – क्यानडा विरुद्ध कतार (बिसी प्लेस, भ्यानकोभर)
२५ जुन, बिहान ००ः४५ बजे – बोस्निया हर्जगोभिना विरुद्ध कतार (लुमेन फिल्ड, सिएटल)
२५ जुन, बिहान ००ः४५ बजे – स्विट्जरल्यान्ड विरुद्ध क्यानडा (बिसी प्लेस, भ्यानकोभर)
समूह समीक्षा:
समूह ‘बी’ मा क्यानडा घरेलु मैदानको फाइदाका कारण अग्रस्थानको दाबेदार देखिन्छ। स्विट्जरल्यान्ड अनुभवका आधारमा बलियो प्रतिस्पर्धी हो भने बोस्निया–हर्जगोभिना ‘डार्क हर्स’ का रूपमा उभिएको छ। कतारले पनि पछिल्ला वर्षको लगानीलाई नतिजामा बदल्ने लक्ष्य राखेको छ। त्यसैले यो समूहबाट अन्तिम १६ मा पुग्ने टोलीको टुंगो अन्तिम खेलसम्म पर्खिनुपर्ने सम्भावना बलियो छ।