दोलखा। विश्व सगरमाथा दिवसको अवसरमा अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको पाँचौं वार्षिक साधारणसभा दोलखाको कालिञ्चोक क्षेत्रमा सम्पन्न भएको छ। अल्पाइन, विन्टर, पर्वतीय तथा साहसिक खेलमार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फेडेरेसनले समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको कालिञ्चोकको कुरी बजारमा जेठ १५ र १६ गते साधारणसभा आयोजना गरेको हो।
फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभामा केन्द्रीय कार्यसमिति, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेश समितिका प्रतिनिधिहरूसहित विभिन्न प्राविधिक तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कुल ३१ प्रतिनिधिमध्ये २२ जनाको उपस्थिति रहेको फेडेरेसनले जनाएको छ।
साधारणसभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना, बजेट तथा विभिन्न विशेष प्रस्तावहरू पारित गरेको छ। संस्थाको व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उमेश केसी चौलागाईंलाई जनरल म्यानेजर नियुक्त गरिएको फेडेरेसनले जनाएको छ।
त्यसैगरी अडिटर नियुक्ति, पदाधिकारीहरूको विषयगत जिम्मेवारी निर्धारण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार र संस्थागत एकतासम्बन्धी प्रस्तावहरू पनि साधारणसभाले अनुमोदन गरेको छ।
साधारणसभासँगै विश्व सगरमाथा दिवसको अवसरमा कालिञ्चोकको कुरी बजारमा ‘हाई अल्टिच्युड टग अफ वार’ प्रतियोगिता पनि आयोजना गरिएको थियो। आयोजकका अनुसार समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाइमा सम्पन्न उक्त प्रतियोगिता नेपालकै सबैभन्दा अग्लो स्थानमा आयोजित टग अफ वार प्रतियोगिता हो।
कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली–सुदूरपश्चिम संयुक्त टोली र दोलखा टोली सहभागी प्रतियोगिताको फाइनलमा कोशी प्रदेशले बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो। सेमिफाइनलमा बागमतीले कर्णाली–सुदूरपश्चिमलाई २–१ ले हराएको थियो भने कोशीले दोलखालाई २–० ले पराजित गरेको थियो। प्रतियोगितामा ४० खेलाडी सहभागी रहेका थिए।
अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजनामा तथा नेपाल टग अफ वार एसोसिएसनको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताका विजेताहरूलाई काठमाडौंमा विशेष समारोहबीच सम्मान गरिने जनाइएको छ।
यसै अवसरमा फेडेरेसनले ‘टुर डे हिमालय’ नामक काठमाडौं–कालिञ्चोक मोटरसाइकल र्याली पनि आयोजना गरेको थियो। आगामी वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको साहसिक पर्यटन ब्रान्डका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना गरिएको र्यालीमा २१ मोटरसाइकल, ४१ राइडर तथा ८ प्राविधिकसहित कुल ४९ जनाको सहभागिता रहेको थियो।
सातदोबाटोस्थित फेडेरेसनको कार्यालयबाट सुरु भएको र्याली बनेपा, दोलालघाट, खाडीचौर, मुडे र चरिकोट हुँदै कालिञ्चोकको कुरी बजारमा पुगेर सम्पन्न भएको थियो। नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दशरथ रिसालले र्यालीको शुभारम्भ गरेका थिए।
फेडेरेसनका अनुसार साहसिक खेल र पर्यटनलाई जोड्दै हिमाली क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यी कार्यक्रमहरूले कालिञ्चोक तथा दोलखा क्षेत्रलाई साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।