काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले सनसनीपूर्ण प्रदर्शन गर्दै मुख्य विधाका तीनवटा अवार्ड जितेका छन् । १५ वर्षीय सूर्यवंशीले यस सिजनको ‘मोस्ट भ्यालुएबल प्लेयर’ ‘अरेन्ज क्याप’ र ‘इमर्जिङ प्लेयर’को अवार्ड पाएका छन्।
उनले १६ इनिङ्समा २३७.३० को अविश्वसनीय स्ट्राइक रेटमा ७७६ रन बनाएका छन् । आईपीएल इतिहासमा एकै सिजनमा एमभीपी र इमर्जिङ प्लेयर दुवै अवार्ड जित्ने सूर्यवंशी पहिलो खेलाडी बनेका छन् ।
सन् २०११ मा क्रिस गेलपछि एकै सिजनमा सर्वाधिक रन र उत्कृष्ट स्ट्राइक रेट दुवै सूचीको शीर्ष स्थानमा रहने उनी पहिलो खेलाडी हुन् । उनले यस सिजन ७२ छक्का प्रहार गर्दै एकै सिजनमा गेलले बनाएको सर्वाधिक ५९ छक्काको कीर्तिमान समेत भंग गरे । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले राजस्थान प्लेअफसम्म पुगेको थियो । उनले उत्कृष्ट खेल देखाए पनि चन्डिगढमा भएको क्वालिफायर २ मा राजस्थान गुजरात टाइटन्ससँग पराजित भएर बाहिरिएको थियो ।
एकै सिजन धेरै अवार्ड थापेपछि सूर्यवंशीले भने, “राम्रो लागिरहेको छ, तर अन्तरवार्ताहरू दिनुपर्दा अलि दबाब महसुस भइरहेको छ । यो मेरो लागि गर्वको क्षण हो र आगामी सिजनमा पनि यस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछु । म आफ्नो स्वभाविक खेल खेल्छु र बल प्रहार गर्ने खालको छ भने म पूरै शक्तिका साथ सट खेल्छु ।”