काठमाडौं । नेपालमा इन्डोर क्रिकेटप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै ‘इन्डोर सुपर लिग’को दोस्रो संस्करण औपचारिक रूपमा घोषणा गरिएको छ। काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिको आयोजनामा ‘इन्डोर सुपर लिग–सिजन २’ सञ्चालन हुन लागेको हो।
पहिलो संस्करणको सफलतापछि यसपटक प्रतियोगितालाई अझ व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित दोस्रो सिजन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताको दायरा विस्तार गर्दै यस संस्करणमा दुई नयाँ फ्रेन्चाइज टोली समेत थपिएका छन्। नयाँ टोलीको आगमनसँगै लिग अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका लागि खेलाडी वर्गीकरण तथा पारिश्रमिक संरचना पनि सार्वजनिक गरिएको छ। मार्की खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ‘ए’ श्रेणीका खेलाडीको प्रारम्भिक बोलकबोल २५ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म रहनेछ। ‘बी’ श्रेणीका खेलाडीका लागि १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बोलकबोल हुनेछ भने ‘सी’ श्रेणीका खेलाडीको मूल्य १० हजारदेखि १५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
इन्डोर सुपर लिगले नेपाली क्रिकेट प्रतिभालाई व्यवसायिक मञ्च प्रदान गर्नुका साथै नयाँ खेलाडी उत्पादन, खेल संस्कृतिको विकास र नेपालमा इन्डोर क्रिकेटको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
प्रतियोगितासम्बन्धी विस्तृत जानकारी, टोली घोषणा, अक्सन मिति तथा खेल तालिका छिट्टै सार्वजनिक गरिने काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिले जनाएको छ।