काठमाडौं। नेपालको लोकप्रिय फ्रेन्चाइज क्रिकेट टोली पोखरा एभेन्जर्सले खेलकुदलाई हिमाल संरक्षण र जलवायु परिवर्तनको विश्वव्यापी अभियानसँग जोड्दै नयाँ इतिहास रचेको छ।
प्रख्यात नेपाली पर्वतारोही तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइड पासाङ काजी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पोखरा एभेन्जर्सको झण्डा फहराउँदै जलवायु चेतनाको सशक्त सन्देश दिएका हुन्।
२३ मे बिहान ३:५० बजे सम्पन्न भएको उक्त सफल आरोहण पासाङ काजी शेर्पाको आठौँ एभरेस्ट सफलता हो। यसअघि उनले केटु, चो ओयु र मनास्लुजस्ता विश्वका कठिन हिमालहरू समेत सफलतापूर्वक आरोहण गरिसकेका छन्।
यस अभियानलाई केवल साहसिक उपलब्धिका रूपमा नभई “हिमाल जोगाऔँ, भविष्य बचाऔँ” भन्ने साझा प्रतिबद्धताको प्रतीकका रूपमा हेरिएको छ। पोखरा एभेन्जर्सले क्रिकेटको लोकप्रियता प्रयोग गर्दै हिमनदी संरक्षण, जलवायु परिवर्तन र वातावरणीय संकटबारे विश्व समुदायलाई सचेत गराउने प्रयास गरेको जनाएको छ।
“हामी केवल सगरमाथाको चुचुरोमा पुग्न चाहेका होइनौँ, हामी त्यहाँबाट विश्वलाई एउटा सन्देश दिन चाहन्थ्यौँ,” पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, “यो अभियान हिमाल संरक्षणको महत्त्व बुझाउने र नयाँ पुस्तालाई खेल तथा वातावरणप्रति जिम्मेवार बनाउन प्रेरित गर्ने प्रयास हो।”
नेपाल प्रिमियर लिगको चर्चित टोली पोखरा एभेन्जर्सले स्थापना कालदेखि नै क्रिकेट विकाससँगै सामाजिक र वातावरणीय मुद्दामा सक्रिय भूमिका खेल्दै आएको छ।
सगरमाथाको शिखरमा फहरिएको पोखरा एभेन्जर्सको झण्डालाई धेरैले नेपाली खेलकुद, पर्यटन र हिमाल संरक्षणलाई एउटै मञ्चमा जोड्ने ऐतिहासिक क्षणका रूपमा व्याख्या गरेका छन्।
यो सफल अभियानले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको नेतृत्व र नेपाली आरोहीहरूको साहसलाई पुनः विश्वसामु स्थापित गरेको छ। साथै, जलवायु परिवर्तनका कारण संकटमा परिरहेका हिमाल र हिमनदी जोगाउन अब खेलकुद क्षेत्रसमेत अग्रसर हुनुपर्ने सन्देश दिएको छ।