काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो ।
यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । युरोपियन प्रतियोगिताको उपाधि भने ४४ वर्षपछि जितेको हो । सन् १९८२ मा युरोपियन कप जितेको थियो ।
खेलको पहिलो हाफमै एस्टन भिल्लाले दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । ४१औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले शानदार गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ५८औं मिनेटमा मोर्गन रोजर्सले अर्को गोल थपेपछि एस्टन भिल्लाको जित सुनिश्चित भयो । खेलभर एस्टन भिल्लाले दबाब कायम राख्यो । अमाडु ओनानाको प्रहार पोस्टमा लागेको थियो भने बुएन्डियाले अर्को अवसर पनि गुमाएका थिए ।
मुख्य प्रशिक्षक उनाई एमरीका लागि यो पाँचौं युरोपा लिग उपाधि हो । उनले सन् २०२२ नोभेम्बरमा टोली सम्हालेपछि एस्टन भिल्लाको प्रदर्शनमा ठूलो परिवर्तन आएको छ ।
एस्टन भिल्लाले यसअघि सन् १९९६ मा लिग कप जितेको थियो । त्यसयता पहिलो पटक टोलीले ठूलो उपाधि जित्न सफल भएको हो ।