काठमाडौं-आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै अमेरिका शीर्षस्थानमा फर्किएको हो। स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
स्मित पटेल र शयान जहांगिरले ३७–३७ रन जोडे भने सैतेजा मुक्कमल्लाले ३५, मिलिन्द कुमारले अविजित २४, शेहान जयासूर्याले १९ रन जोड्दा शुभम रन्जाने ११ रनमा अविजित रहे।
बलिङतर्फ स्कटल्याण्डका ज्याक हार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ४३.३ ओभरमा १६९ रनमै अलआउट भयो।
मार्क वाटले सर्वाधिक ६६ रन जोड्दा ब्रेन्डन म्याकमुलेनले ३२ तथा म्याथ्यु क्रसले २० रन जोडे भने जर्ज मुन्सीले १९ रन बनाए। यीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्कटल्याण्डलाई सस्तैमा समेट्न अमेरिकाका रुशील उगारकरले चार, सौरभ नेत्रवाल्करले तीन तथा शुभम रन्जानेले दुई विकेट लिए। हरमित सिंहले एक सफलता हात पारे।
शीर्षस्थानको अमेरिकाको २७ खेलबाट ३८ अंक रहेको छ। ३२ खेलबाट समान अंक रहेपनि स्कटल्याण्ड नेट रनरेटको आधारमा दोस्रो स्थानमा झरेको हो।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित यस सिरिजको अन्तिम खेल शुक्रबार हुँदैछ। जहाँ घरेलु टोली नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।