काठमाडौं । नेपालको ‘ए’ टीमले अमेरिका र स्कटल्यान्डविरुद्धको त्रिकोणात्मक सिरिज क्लीन स्वीप गर्यो । एक दिवसीय मान्यताप्राप्त खेल नभए पनि यो चानचुने प्रदर्शन भने होइन ।
अमेरिका अहिले एसोसिएट्स राष्ट्रहरुमा नम्बर वान मानिन्छ, जहाँ अधिकांश भारतीय खेलाडीहरु छन् । आलोचकहरुले अमेरिकाको क्रिकेट टीमलाई भारतकै छायाँ टिमसमेत मान्ने गर्छन् । स्कटल्यान्ड पनि परम्परागतरुपमा नै बलियो क्रिकेट राष्ट्र हो । लिग २ खेल्न यी दुई राष्ट्रले पक्कै पनि आफ्नो सबैभन्दा बलियो टीम नै पठाएका छन् ।
अहिले लिग २ को दौडमा रहेका आठ राष्ट्रहरुमध्ये अमेरिका सबैभन्दा शीर्षस्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा । पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई यो सिरिज निकै चुनौतिपूर्ण मानिएको छ, चाहे आफ्नै घरेलु मैदानमा नै किन नहोस । तर, नेपाल ‘ए’ ले यी दुवै टीमहरुविरुद्ध गरेको प्रदर्शनले राष्ट्रिय टीमको मनोबल पनि ह्वात्तै बढेको हुनुपर्छ । साथै कतै न कतै दवाव महसुस पनि भएको हुन सक्छ ।
यता अमेरिका र स्कटल्यान्ड दुवै टीम नेपालसँग त्रशित हुनेछन् । ‘ए’ टीमसँग हार्नुपरेपछि दुवैको मनोबल पक्कै खस्केको छ । यसको फाइदा लिग २ मा नेपालले उठाउन सक्छ ।
अमेरिका र स्कटल्यान्डविरुद्ध चार खेलमा लगातार चार जित निकाल्नु ‘ए’ टीमको दुर्लभ सफलता हो । यसले नेपालको बेन्च स्ट्रेन्थ निकै मजबुत देखाएको छ । फ्यानहरुलाई त राष्ट्रिय टिमभन्दा ‘ए’ टीम पो बलियो रहेछ कि भन्ने भानसमेत परेको छ ।
किनभने नेपालको राष्ट्रिय टीमले समेत यसअघि अमेरिका र स्कटल्यान्डलाई यसरी डोमिनेट गर्न सकेको थिएन । त्यसो त नेपालको ए टीममा पनि राष्ट्रिय टीमबाट खेलिसकेका थुप्रै खेलाडीहरु छन् ।
कप्तान अनिल साहदेखि कुशल मल्ल, सन्दीप जोरा, देव खनाल, साहब आलम लगायत खेलाडीहरुसँग राष्ट्रिय टीमबाट खेलिसकेको अनुभव छ । क्यानले अहिले एक दिवसीय र टि २० का लागि बेग्लाबेग्लै सेटअप बनाएको छ । एकदिवसीय सेटअपमा नपरेकाहरु ‘ए’ टीममा तानिएका हुन् ।
प्रतिस्पर्धा यति तिव्र छ कि सन्दीप जोरा र बसिर अहमद जस्ता उत्कृष्ट खेलाडीहरु पनि राष्ट्रिय टीममा अटाउन सकेनन् । विशेषगरी सन्दीपले हरेकजसो प्रतियोगिताहरुमा आफूलाई प्रमाणित गर्दै आएका छन् ।
भारत र वेस्ट इन्डिजजस्ता टेस्ट राष्ट्रविरुद्ध समेत उनको ब्याटिङ राम्रैसँग चलेको छ । तर, मध्य क्रममा खेलाडीहरु धेरै भएकाले उनले स्थान बनाउन सकेनन् ।
आज जोराले अमेरिकाविरुद्ध गरेको ब्याटिङ सम्भवत नेपालका कुनै पनि ब्याट्सम्यानले अन्तर्राष्ट्रिय स्तरमा गरेको उत्कृष्ट प्रदर्शनमध्ये पर्न सक्छ । उनको शतकले राष्ट्रिय टीमका ब्याट्सम्यानहरुलाई पनि पक्कै प्रेरणा मिल्ने छ ।
अघिल्लो म्याचमा ८३ रनमा अविजित रहेका जोराले शतकको भोक आज पूरा गरे । ईशान पाण्डेसँगै ‘इन फर्म’ जोरा पनि लिग २ को स्क्वाडमा पर्नुपथ्र्यो । फर्ममा नरहेका भीम शार्कीलाई यो सिरिजमा रेस्ट दिन सकिन्थ्यो ।
घरेलु प्रतियोगितामा केही समयदेखि स्थिर प्रदर्शन गरिरहेका डा. ईशान पाण्डे भने राष्ट्रिय टीममा पिक भएका छन् । उनी यसका हकदार पनि थिए ।
यसअघि राष्ट्रिय टीममा रहेका बसिर अहमदलाई हटाएर ईशानलाई समावेश गरिएको हो । बसिर स्वयम् पनि राष्ट्रिय टीममा पर्नुपर्ने खेलाडी हुन् । यद्यपि, प्रतिस्पर्धा निकै चर्को छ ।
नेपाल, अमेरिका र स्कटल्यान्डबीचको श्रृंखला भोलिबाट सुरु हुँदैछ । भोलि पहिलो म्याचमा नेपाल र स्कटल्यान्ड भिड्नेछन् । नेपाल यो सिरिजमा ४–० को सफा नतिजा निकालेर लिग २ मा बलियो पुनरागमन गर्न चाहन्छ ।
तर, यो त्यति सहज काम होइन । यसका लागि नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै पक्षमा कुनै पनि गल्ति गर्नु हुँदैन । साथै, क्रिकेटमा भाग्यको कहिलेकाहीँ भाग्यको पनि साथ चाहिन्छ ।