काठमाडौं बैशाख २७ गते । एभीएस तेश्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एभीएसले सर्वाधिक ११ स्वर्ण जित्यो ।
पाको–नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा ९ स्वर्णसाथ ब्रिज वाटर इन्टरनेसनल स्कुल दोश्रो भयो । तेश्रो स्थानको घर सित मुटुले ६ स्वर्ण हात पार्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
सिनामंगलस्थित ब्रिज वाटर इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा नुवाकोटका प्रशंम कुम्वर तथा महिलामा काठमाडौंकी रिमाकुमारी चौधरी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी पूर्व सदस्य एवं नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष विष्णु थापा र ब्रान्च चिफ सन्जु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि एकदिने प्रतियोगिताको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोख्रेलले उद्घाटन गरेका थिए । आयोजकका अनुसार २ सय खेलाडी सहभागी प्रतियोगिताको पुरुषमा १९ र महिलामा १४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।