बीरगञ्ज, ६ कात्तिक । विलविजक भन्दा बढी सामान लोड गरेको पाइएपछि वीरगञ्ज प्रहरीले ६६ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको आलमोन्डस् (बदाम) बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले आइतबार राती बीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको म.प्र.०३००१ ख ७६७३ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
विल विजक भन्दा बढी बदाम लोड गरेको पाइएपछि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक भारतीले केटिएम दैनिकलाई बताए ।
ट्रकमा अन्दाजी छयसठ्ठी लाख चौबिस हजार चौतिस मूल्य बराबरको बदाम रहेको उनले जानकारी दिए ।
ट्रक र बरामद बदामलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।