काठमाडौँ, १२ असोज । शनिवार बिहान उज्यालो हुँदा नहुँदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरी कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुँदा नहुँदै डुबानमा पर्न सुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपद्मा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ ।
नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घण्टौँ बस्दा पनि उद्धार भएन । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरूलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोश व्यक्त गर्न थाले ।
स्थानीयले बाढीमा बगेका तीन जनाको उद्धार गरे पनि राज्यले अपराह्न सम्म थाहा पाउन नै सकेन ।
अपराह्न गृहमन्त्री रमेश लेखकलाई यस विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने- ‘नख्खु खोलामा मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौँ । यसप्रति म दुःखी छु । हेलिकप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटी नभएका कारणले सकिएन ।’
नख्खु खोलामा यसरी बगे चार जना:
नख्खु खोला किनारको टहरोमा चार वर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो । राजुसहित उनका २८ वर्षीय भाइ राज, दुई जना छोरीहरू ६ वर्षीया मेघना र ५ वर्षीया सेतु बसिरहेका थिए । उनीहरू फलाम वेल्डिङको काम गर्ने बताइएको छ । बिहान ७ बजेसम्म अवस्था नाजुक बनिसकेको र उनीहरू टहरोको छतमा बसेर उद्धारको गुहार लगाइरहेका थिए । स्थानीय जनप्रतिनिधिले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग हेलिकप्टरमार्फत हवाई उद्धारका लागि भने पनि प्रहरी केही बेरमा उद्धारका लागि पर्याप्त संसाधन बिना नै पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । सामान्य डोरीको आधारमा उद्धारको प्रयास सम्भव नभएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । अन्य समयमा व्यापक प्रचार गर्ने गरिएको नगर प्रहरी समेत सङ्कटको समयमा उपस्थित नभएको स्थानीयको गुनासो छ ।
चारै जना टहरो भत्किएर बाढीमा बगेपछि हेरिरहेका स्थानीय ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा पसेर तीन जनालाई सकुशल उद्धार गरेका थिए तर एक बालिकालाई भने उद्धार गर्न सकिएन र उनी बेपत्ता रहेकी छन् । उद्धारपछि तीन जनालाई पाटन अस्पताल पुर्याइएको थियो र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
उपत्यकामा ३२ जनाको मृत्यु
दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।