बनेपा, १२ असोज । शुक्रवारदेखि आएको अविरल वर्षाका कारण काभ्रेका विभिन्न स्थानमा पहिरो जाँदा कम्तीमा नौ व्यक्तिहरू बेपत्ता भएको प्रारम्भिक विवरण आएको छ ।
पहिरोका कारण बेपत्ता भएकामध्ये तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बनेपा-१४ थाल चोकमा पहिरोले घर बगाएर दुई जना बेपत्ता भएको प्रहरी चौकी साँगाले जनाएको छ । घटनास्थलमा प्रहरी नायव निरीक्षक रुपेश श्रेष्ठको कमान्डमा पाँच जना प्रहरी खटिएको छ ।
पनौती नगरपालिका-१२ कोलाँतीमा बर्षादको कारण पहिरो आएर गोपाल तिम्सिनाको घर पुरिदा चार जना पुरिएकोमा तीन जनालाई जीवितै उद्धार गरिएको प्रहरी चौकी रोशीभुमीडाँडाले जनाएको छ । पहिरोमा बेपत्ता एक जनाको खोजतलास जारी छ ।
त्यस्तै नमोबुद्ध नगरपालिका-२ श्यामापाटीमा पहिरोमा परि दुई जना व्यक्ति बेपत्ता भएको भन्ने खबर प्राप्त भएको छ । उक्त स्थानमा प्रहरी चौकी श्यामपाटीबाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमान्डमा चार जनाको टोली खटिएको छ ।
त्यस्तै पनौती-११ थुम्कीमा पहिरोमा घर पुरिँदा चार जना व्यक्तिहरू सम्पर्क विहीन भएको प्रहरी चौकी खोपासीले जनाएको छ ।