विराटनगर, ८ असोज । ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
असोज ५ गते मोरङ पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षको चन्द्र बहादुर तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।
धारीलो हतियारको प्रहारबाट घाटी, टाउको र चिउँडो काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।
घटनास्थलमा फलामको धारिलो दाउ समेत भेटिएको थियो तर तामाङसँगै बस्ने नातामा ज्वाइँ पर्ने रविन राई भने फरार थिए ।
कानेपोखरी गाउँपालिका-५ स्थायी घर भएका राई ससुराली घरमा बस्दै आइरहेका थिए भने उनको श्रीमती वैदेशिक रोजगारको लागि विदेशमा छन् ।
घटनापछि फरार रहेका राईलाई घटनाको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय धनकुटाको समन्वयमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले धनकुटाको मुलघाट भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानमा मृतक ससुरा र ज्वाइँले मादक पदार्थ सेवन पश्चात् वादविवाद गरेपछि राईले धारिलो हतियार फलामको दाउले प्रहार गर्दा ससुरा तामाङको घटनास्थलमै निधन भएको खुलेको छ ।
मृतक चन्द्रबहादुरका दुई छोरा, एक छोरी र पत्नी सबै जना विदेशमा रहेको डीएसपी बस्नेतले बताए ।
पक्राउ परेका राईलाई अदालतबाट म्याद थप गरेर कर्तव्य ज्यान कसुरमा मुद्दा चलाइएको छ ।