न्युयोर्क, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन् ।
प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९:४५ बजे न्युयोर्क आइपुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई न्युयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्याबाहक राजदूत कुमारराज खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यबाहक महावाणिज्यदूत चक्र सुवेदी लगायतका अधिकारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । साथै उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ मा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ मा हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।