काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न हवाई कम्पनीहरूलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिकामै रहेका ओलीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
आइतबार प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सुनिएको उल्लेख गर्दै सहुलियत भाडा लिन आग्रह गरेका छन् ।
उनले भनेका छन् –
लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ ।
हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ ।
नेपाल सरकार, पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ । हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले समेत सडकमार्ग अवरुद्ध भएको समयमा सहुलियत भाडा मा सरकारको ध्यान पुर्याउन अनुरोध गरेका थिए ।
उनले भनेका छन्, ‘प्राकृतिक विपतका कारण अधिकांश स्थलगत मार्गहरु अवरुद्ध भएका बेला यातायातको एकमात्र विकल्प हवाई सेवालाई सर्वसाधारणका लागि समेत सहज बनाउन हवाई भाडा दरमा सहुलियत, नियमितता लगायतमा सरकारको ध्यान पुगोस् ।‘