रुपन्देही, १ असोज । रुपन्देही प्रहरीले २९ किलो गाँजासहित तीन महिलालाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो बुटवल उप-महानगरपालिका-२ भिमसेनपथ स्थित एक घरमा लागु औषध कारोबार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोली उनीहरूलाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।
रुपन्देही प्रहरी प्रवक्ता डिएसपी मनोहर प्रसाद भट्टका अनुसार स्थानीय ५७ वर्षीया बुद्ध लक्ष्मी खड्कीको कोठाबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।
गाँजासहित पक्राउ पर्नेमा खड्की, सोही स्थानमा बस्ने ३४ वर्षीया हिना शाही खड्की र दैलेख महावु गाउँपालिका-४ घर भएकी २३ वर्षीया रिहा शाही ठकुरी छन् ।
उनीहरूउपर लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए ।