काठमाडौँ, २९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठकमा उपस्थित भएका छन् ।
समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिनुअघि आज प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ ।
समितिले यस अघि शुक्रवार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगी गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो ।
विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्ब उपलब्ध गराउन बैठकले निर्देशन गरेको छ ।
समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरूसँग बयान लिने काम सकिसकेको छ ।
गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।