काठमाडौं, २५ भाद्र । प्रधान सेनापतिमा औपचारिक रुपमा नियुक्त भएको भोलिपल्ट अशोकराज सिग्देलले जङ्गी अड्डास्थित सभामण्डपमा सकलदर्जालाई पहिलो पटक सम्बोधन गरेका छन् ।
सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरू र आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुका साथै सकलदर्जालाई निर्देशन दिएका हुन्।
सम्बोधनका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, नेपाल सरकार लगायत सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरे ।
सम्बोधनको क्रममा उनले “प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन-२०८१” जारी हुने घोषणा गरे । उक्त मार्गनिर्देशमा राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्वपूर्ण क्षेत्रहरुलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्यहरु समावेश गरिने बताइएको छ ।
विद्यार्थीहरुको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने उनले बताए ।
नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई/मधेस द्रुतमार्ग लगायत अन्य सडक करिडोरहरुको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनियमितता लगायतका क्रियाकलापहरु अस्वीकार्य हुने उनले बताए। सम्बोधनको अन्त्यमा उनले नेपाली सेनालाई साथ र सहयोग गर्ने मित्रराष्ट्रहरू, नेपाल स्थित मित्र राष्ट्रका नियोगहरू, मित्र राष्ट्रका सेनाहरू र नेपाल स्थित सैनिक सहचारीहरूप्रति आभार व्यक्त गरे ।
नेपाली सेनाका सबै युनिटहरूमा लाइभ मल्टीकास्ट गरिएको उक्त कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।
सम्बोधनको मुख्य अंश