काठमाडौं, ५ असोज । संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।
नेपाली सेना र चीनको जनमुक्ति सेनाका फौजबिच सञ्चालन हुँदै आइरहेको अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’ मा सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघिय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यासमा सहभागिता जनाउँदै आई रहेको छ ।
असोज १५ गतेसम्म चीनको चोनजिङमा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ ।
वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।
नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड-१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको हो ।