काठमाडौं, १९ भाद्र । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
आज श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरुको पहिलो टोली युनाइटेड मिसन इन साउथ सुडान मिसनका लागि प्रस्थान गरेका छन् ।
प्रमुख सेनानी सुरेश देवकोटाको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा दक्षिण सुडान प्रस्थान गरेको हो ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फाका १७३ जना शान्ति सैनिकहरु सेनानी कुमार गुरुङ्गको नेतृत्वमा हिजो स्वदेश फिर्ता भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।