काठमाडौं, १९ भदौ । काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योतीस्थित शुभयात्रा गेस्टहाउसबाट नौ जना जुवाडे पक्राउ परेका छन् ।
मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाले सञ्चालन गरिरहेको उक्त गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक लामासहित नौ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रूपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
जुवा खेल्दा के हुन्छ कारबाही ?
नेपालको कानुनले कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिवाल पाउने वा गुमाउने गरी खेलिने जुवालाई कसुर ठहर गरेको छ ।
पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ भने दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुर मा पटकै पिच्छै थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था गरेको छ ।
कानुनले जुवा नखेली अरूको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत ‘जुवा’ ठहर गरेको छ ।